स्वास्थ्यका लागि पर्याप्त पानी आवश्यक पर्छ । गर्मी होस् वा जाडो मौसम नै किन नहोस्, पानी मानिसका लागि अति आवश्यक छ । तर, पानीको मात्रा भने मिलाउन जरुरी हुन्छ । बढी वा कम पानीले शरीरमा गम्भीर समस्यासमेत निम्त्याउन सक्छ ।

बढी पानीले ‘हाइपोनट्रेमिया’

आवश्यकभन्दा बढी पानी पिउँदा ‘हाइपोनट्रेमिया’ रोग लाग्ने समस्या पनि हुन सक्छ । हाइपोनट्रेमिया रगतमा सोडियमको मात्रा कम भएर लाग्ने गर्छ । शरीरमा आवश्यकभन्दा बढी पानी हुँदा पिसाबका माध्यमबाट नुनको मात्रा छोटो समयमा बढी बाहिरिने गर्छ ।

यसले रगतमा सोडियमको मात्रा कम हुन जान्छ । जसका कारण अत्यधिक थकाइ लाग्ने, वान्ता, बेहोस हुनेसम्मको समस्या निम्तिन सक्छ । त्यस्तै, छोटो समयमा बढी पानी छान्नुपर्दा किड्नीलाई ओभर लोड हुन्छ र स्वास्थ्यमा असर पर्न सक्छ । तसर्थ, पानी जति बढी पियो त्यति फाइदा हुन्छ भनेर बुझ्नुचाहिँ गलत हुन्छ ।

कसरी र कति पिउने ?

पानी पिउनेबारे ठ्याक्कै नियम छैन । तर, शरीरलाई आवश्यक पानीको मात्राचाहिँ लिनुपर्छ । फरक–फरक मानिसलाई फरक–फरक पानीको मात्रा आवश्यक हुन्छ । इन्स्टिच्युट अफ मेडिसिनका अनुसार युवा उमेरका पुरुषलाई दिनमा ३ लिटर र महिलालाई २ दशमलव २ लिटर पानी आवश्यक हुन्छ । तर, एकपटकमा २ गिलासभन्दा बढी पानी पिउनु हुँदैन ।

शरीरमा पानी पुगे/नपुगेको पिसाबका माध्यमबाट पनि थाहा पाउन सकिन्छ । हल्का पहेँलो रङको पिसाबलाई सामान्य मानिन्छ । यदि पिसाब गाडा पहेँलो वा सुनौलो रङको वहन थालेमा शरीरमा पानीको कमी छ भन्ने बुझ्नुपर्छ । यस्तो अवस्थामा प्रशस्त पानी पिउन आवश्यक हुन्छ ।

कहिलेकाहीँ पिसाबको रङ हेरेर मात्र पनि पानीको मात्रा नपुगेकोबारे थाहा नहुन सक्छ । किनकि, भिटामिन बी कम्प्लेक्सको प्रयोगले पनि पिसाबको रङ गाढा पहेँलो हुन्छ । अन्य केही औषधिको सेवनले पनि यस्तो हुन सक्छ ।

व्यायामपछि तत्काल पानीको प्रयोग गर्नु हुँदैन । किनकि, व्यायामको अवस्थामा शरीर बढी तातेको हुन्छ । यस्तो वेला केही समय होल्ड गरेर मात्र पानी प्रयोग गर्नु राम्रो हुन्छ ।

गर्मीमा अतिरिक्त

सामान्य अवस्थामा भन्दा पसिना बढी बग्ने समयमा अतिरिक्त पानीको आवश्यकता हुन्छ ।
दैनिक व्यायाम गर्नेलाई पनि अतिरिक्त पानीको अवश्यकता पर्छ ।
गर्मी मौसममा पनि सामान्यभन्दा बढी पानी पिउनुपर्छ ।
गर्भवती वा बच्चालाई दूध खुवाउने आमाले अतिरिक्त पानी पिउनुपर्छ ।
बान्ता, झाडापखाला, ज्वरो आदि समस्या भएका वेला पनि प्रशस्त पानी पिउनुपर्छ ।

पानी कम हुँदा

छाला सुक्खा हुनु, लोसनले पनि काम नगर्नु ।
मुख सुक्नु र धेरै तिर्खा लाग्नु ।
टाउको दुख्नु ।
थकित देखिनु ।
शरीरको वजन बढ्नु ।
अपचको समस्या देखिनु ।
झर्किने र झन्किने बन्नु ।
मांसपेशी बाउँडिने हुनु ।

कुन समय पिउने ?

बिहान उठ्नेबित्तिकै १ देखि २ गिलास मनतातो पानी पिउने बानी गर्नुपर्छ ।

खाना खानुभन्दा करिब आधा/एक घन्टाअघि पिउँदा उचित हुन्छ । र, खाना खाएको एक घन्टापछि मात्र पानी पिउने बानी गर्नुपर्छ । यो नियम खाजा खाने समयमा पनि लागू हुन्छ ।

पानीजन्य पदार्थ जस्तै– सुप, चिया पिउनुलाई पानी प्रयोग गरेको मान्नु हुँदैन । कतिपय पानीको सट्टा जुस पनि पिउने गर्छन् । तर, यसरी पानीको सट्टा अन्य पदार्थ पिउँदा गर्मी मौसममा समस्या पार्न सक्छ । यसो गर्दा पानीको कमीले डिहाइड्रेसन हुने सम्भावना हुन्छ । यसबारे सचेत हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *