आदर्श प्रधान, मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स, धापासी

व्यस्त जीवनशैलीले शारीरिक थकान त दिन्छ नै, मानसिक रूपमा पनि तनाव उत्पन्न गराउँछ । तनावपूर्ण अवस्थामा काम गर्दा प्रतिफल पनि सोचेअनुरूप नआउन सक्छ । यस्तोमा सामान्य उपाय अपनाएर पनि घर तथा कार्यालयमा तनावलाई कम गर्न सकिन्छ । कार्यालयमा हुने तनाव कम गराउन अपनाउन सकिने सजिला उपाय यस्ता हुन सक्छन्ः


—कार्यालयमा काम गर्ने स्थाननजिकै गमलामा मन पर्ने बिरुवा राख्नुहोस् । प्रत्येक आधा घन्टामा पाँच मिनेट यसलाई हेर्नुहोस् र थोरै–थोरै पानी पनि हाल्दा हुन्छ । यसरी बिरुवालाई हेर्दा तपाईंको आँखालाई आनन्द महसुस हुन्छ । जसले तनाव कम गर्न धेरै सहयोग गर्छ ।

—तनाव कम गर्न तपाईंको साथमा सधैँ स्माइली स्ट्रेस बल पनि राख्न सक्नुहुन्छ । काम गर्दै जाँदा तनाव बढ्न थाल्यो भने बललाई निकालेर करिब पाँच मिनेट खेल्नुहोस् । यसले तपाईंको सोचाइ सकारात्मक बनाउँछ ।

—कुर्सीमा एउटै तरिकाले बसेर काम गरिरहँदा पनि तनाव उत्पन्न हुन सक्छ । त्यसैले कुर्सीमा बसाइको प्रत्येक ३० मिनेटमा शरीरलाई तन्काउनु राम्रो हुन्छ । यसले शरीर क्रियाशील भई तन्दुरुस्ती महसुस गराउँछ ।

अफिसमा खाजा खाँदा भिटामिन, मिनरल्स दिने परिकार सेवन गर्नुपर्छ । यस्तो खाजाले शक्ति दिनुका साथै तनाव पनि कम गर्र्न मद्दत गर्छ । त्यस्तै, काम गर्दै गर्दा दिनमा कुनै समय १०–१० मिनेट छुट्याएर ध्यान गर्दा पनि मनमा राम्रो विचार उत्पन्न हुन्छ ।

ड्राई फुड

ड्राई फुड, जस्तैः बदाम, ओखर, किसमिस या काजु खानुहोस् । यसले शरीरलाई तागत मिल्छ र दिमागलाई पनि क्रियाशील बनाउँछ ।

पुस्तक पढ्नुहोस्

लामो समय लगातार कम्प्युटरअगाडि बसेर काम गर्दा स्वाभाविक रूपमा तनाव बढ्छ । त्यसकारण फुर्सद मिलाएर केही समय पुस्तक पढ्नुहोस् ।

संगीत सुन्नुहोस्

काम गर्दा दिक्क लाग्न सक्छ । त्यस्तो वेलामा फुर्सद निकाल्नुहोस् । आनन्दले तपाईंलाई मन पर्ने गीत–संगीत सुन्नुहोस् । यसले सीधै दिमागमा असर गर्छ र तनाव कम गर्छ ।

ताजा फलफूल या स्न्याक्स

अफिसमा काम गर्दागर्दै भोक लाग्न सक्छ । बढी भोक लाग्दा तनाव बढ्न सक्छ । त्यसकारण सधैँ ताजा फलफूल या स्न्याक्स राख्नुहोस् । जब भोक लाग्छ, खाइहाल्नुहोस् ।

यताउता डुल्नुहोस्

केही घन्टाको नियमित कामपछि टाढा जान नपाए पनि केही समयका लागि छत या कौसीमा यताउता डुल्नुहोस् । यसरी डुल्दा तनाव कम हुन्छ । कम्तीमा दिनमा ३० मिनेट डुल्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *